Public Service Commission (PSC) of Nepal’s vacancy notice for the Pre-qualification Examination of non-technical Assistant Level First Class (5th Level) and Assistant Level Second Class (4th Level or Khardar) for various organized institutions.

सङ्गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन
सूचना नं. ३८/०८३-८४ प्रकाशन मिति: २०८३/०४/०६
लोक सेवा आयोग नियमावली, २०६७ (संशोधन सहित) नियम २३क. को उपनियम (१) मा भएको व्यवस्था बमोजिम आयोगको मिति २०८३।३।३२ को निर्णयानुसार आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन प्रकाशन गर्ने सङ्गठित संस्थाका अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह वा पाँचौं तह र सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको लागि लिइने पूर्वयोग्यता परीक्षा प्रयोजनको लागि देहाय बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ।
| क.सं. | विज्ञापन नम्बर | पद, सेवा, समूह, उपसमूह | पूर्व योग्यता परीक्षा सञ्चालन हुने मिति र समय |
|---|---|---|---|
| १. | १०१/०८३-८४ | सहायकस्तर प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह वा पाँचौं तह वा सो सरह | २०८३ असोज ३ गते, दिनको २:०० बजे |
| २. | १०२/०८३-८४ | सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह | २०८३ असोज ४ गते, दिनको २:०० बजे |
परीक्षाको किसिम:- लिखित परीक्षा।
न्यूनतम योग्यता:-
सहायकस्तर प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह वा पाँचौं तह वा सो सरह पदको लागि
लोक सेवा आयोग नियमावली, २०६७ (संशोधन सहित) को नियम २३क. (१०) बमोजिमको योग्यता पुरा गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरह उत्तीर्ण।
सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको लागि
लोक सेवा आयोग नियमावली, २०६७ (संशोधन सहित) को नियम २३क. (१०) बमोजिमको योग्यता पुरा गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई. वा सो सरह उत्तीर्ण।
नोट: ग्रेडिङ प्रणाली लागु भए पश्चात् एस.एल.सी. वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूको हकमा GPA 2 वा सोभन्दा माथिको ग्रेड प्वाइण्ट प्राप्त गरेकोलाई न्यूनतम योग्यता पुरा भएको मानिनेछ।
परीक्षा केन्द्र:- आयोग मातहतका परीक्षा सञ्चालन गर्ने कार्यालयहरू (इलाम, धनकुटा, खोटाङ, जलेश्वर, हेटौडा, काठमाडौं, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर)
दरखास्त दस्तुर:- पाँचौं तहका लागि रु. ३०० (तीन सय) र चौथो तहका लागि रू.२०० ।- (दुई सय)
दरखास्त दिने अन्तिम मिति:- २०८३/०४/२६ गतेसम्म र दोब्बर दस्तुर तिरी २०८३/०५/०२ गतेसम्म।
उम्मेदवारको उमेरको हद:-
- २०८३/०४/२६ गतेसम्म १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको।
- कुनै पनि सङ्गठित संस्थाको सेवामा बहालबाला स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने छैन। तर मूल परीक्षाको लागि विज्ञापन प्रकाशन हुँदाका बखत सम्बन्धित सङ्गठित संस्थामा कार्यरत कर्मचारी बाहेक अन्यको हकमा उमेर हद लाग्नेछ।
दरखास्त दस्तुर बुझाउने विधि र स्थान:- दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् विधुतीय माध्यमबाट सोझै वा Master ID र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएको बैंकबाट नगदसमेत बुझाउन सकिनेछ।
दरखास्त दस्तुर बुझाउने अवधि:- ढिलोमा मिति २०८३/०५/०२ गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाई सक्नुपर्नेछ।
अपलोड गर्नुपर्ने कागजातहरू:- उम्मेदवारले शैक्षिक योग्यता सम्बन्धित विज्ञापनमा तोकिएको कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नुपर्नेछ। सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPG Format मा अपलोड गर्नु पर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ। उल्लिखित कागजातहरू दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसुकै समय दरखास्त रद्द हुन सक्नेछ।
दरखास्त पेश गर्दा ध्यान दिनु पर्ने कुराहरू:-
(क) आयोगद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको लगायत रित नपुगेका दरखास्त स्वीकृत गरिने छैन।
(ख) विज्ञापन प्रकाशन गर्दा तोकिएको दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनुपर्नेछ। विदेशी शिक्षण संस्थाबाट शैक्षिक उपाधि हासिल गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ।
(ग) एकपटक आयोगको अनलाइन (Online) दरखास्त प्रणालीमा व्यक्तिगत विवरण (Profile) बनाई Master ID प्राप्त गरिसकेका उम्मेदवारहरूले सोही Master ID प्रयोग गरी दरखास्त पेश गर्नु पर्नेछ।
(घ) परीक्षा केन्द्र एक पटक छनौट गरिसकेपछि संशोधन नहुने हुँदा आवेदन पेश गर्नुपूर्व उम्मेदवार पूर्ण विश्वस्त भई परीक्षा केन्द्र छनौट गर्नुपर्नेछ।
(ङ) पूर्वयोग्यता परीक्षा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले मात्र सो प्रमाणपत्रको आधारमा प्रमाणपत्र जारी भएको मितिले १(एक) वर्ष भित्र कुनैपनि सङ्गठित संस्थाबाट प्रकाशन हुने विज्ञापनमा दरखास्त पेश गर्न पाउनेछन्। यसरी दरखास्त पेश गर्दा सम्बन्धित सङ्गठित संस्थाको नियमावली, विनियमावली र प्रचलित कानूनद्वारा तोकिएको न्यूनतम योग्यता पुरा गरेको हुनुपर्नेछ।
(च) तह-५ को पूर्वयोग्यता परीक्षा उत्तीर्ण उम्मेदवारले चाहेमा तह-४ का अप्राविधिकतर्फका पदमा उम्मेदवार हुन पाउनेछन्।
(छ) लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा आयोगद्वारा तोकिएका परीक्षा सम्बन्धी शर्तको उल्लंघन गरी निलम्बनमा रहेका उम्मेदवारहरू निलम्बनको अवधिभर पूर्वयोग्यता परीक्षामा उम्मेदवार हुन पाइनेछैन।
(ज) सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनु भन्दा कम्तीमा १० (दश) दिन अगावै आयोगको सम्बन्धित कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। अन्यथा सहयोगी लेखक उपलब्ध गराउन आयोग बाध्य हुने छैन।
(झ) विज्ञापन प्रकाशन गर्ने सङ्गठित संस्थाबाट तोकिएका शर्त, आधार र मापदण्ड पालना गर्ने कर्तव्य दरखास्त पेश गर्ने उम्मेदवार स्वयंको हुनेछ।
(ञ) पूर्वयोग्यता परीक्षामा ओ.एम.आर (OMR) उत्तरपुस्तिकाको प्रयोग हुनेछ।
(ट) परीक्षामा परीक्षार्थीले कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ।